निरञ्जन खतिवडाको दिव्य कविता
बाँधिएको छैन म
होइन मोक्ष
कुनै हिमालको टुप्पो,
जहाँ पुग्न कर्मका पाइलाहरूलेहजार सपना चढाएर,
चिसो ढुंगा छाम्नुपर्ने ।
यो त दीप हो तिमीभित्रको
जो अँध्यारोको बीचमा
आशाको झिल्को बनिरहेछ ।
हरियो पात झर्ने बेला,
जसरी रुख हलुका हुन्छ,
त्यसैगरी
जब तिमी तृष्णाको बोझ फाल्छौ,
तिमी पनि हलुका बन्न थाल्छौ ।
मोक्षको हावा तिमीभित्र चल्न थाल्छ ।
प्रतीक्षा
त्यो नदी जस्तै हो,
जो पहाड फुटाएर बग्छ,
आखिरमा समुद्रमा विलीन हुन ।
स्वयंको अस्तित्व मेटाएर
समग्रमा मिल्न खोज्ने
झल्को आत्मा र परमात्माको ।
धूप जल्ने छ,
तर त्यो केवल पूजा हुने छैन,
त्यो त तिमीभित्र जलिरहने
लोभ, ईष्र्या र घृणाको हुनेछ,
जसले अब खरानी हुनुपर्ने छ ।
म अव कमलको फूल बन्नु छ
मोहको हिलोबीच उभिएर
शुद्ध, सुगन्धित र उज्यालो ।
अनि बुझ्नु छ ।
मोक्ष कुनै मृत्युपछिको रहस्य होइन
यो त जीवनभित्रै जीवाको खोजी हो ।
साससँगै गुञ्जिएको मुक्ति हो,
जहाँ हरेक धड्कनले भन्छ —
“म बाँधिएको छैन ।”
साँच्चै
अब “म बाँधिएको छैन ।”
निरञ्जन खतिवडा
धादिङ

Leave a Comment