लङ्गडाको साथी उपन्यासको विश्लेषण ।


                                         विश्लेषक : पुरुषोत्तम रिजाल (Euta BUlanda Aawaj)
                                                         थाक्रे २, धादिङ्ग


विषय प्रवेश 
      मानवतावादी उपन्यासकार लैनसिंह बाङ्देल (वि.स १९८०ं) नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र हुन् । उनले नेपाली साहित्यमा स्पेनको सम्झनामा (२०२०), युरोपको चिठी २०२४) गरी दई ओटा यात्रा संस्मरणात्मक कृति, विश्वका महान् कलाकार २०२०), जीवनी, विश्व कथा संग्रह २००२) अनुवाद, प्राचीन नेपाली चित्रकला २०३४) , नेपाली प्रस्तर कलाको इतिहास २०३५), कला सम्बन्धी कृति, साहित्यमा यथार्थवाद साहित्यिक लेखन, मुलृुक बाहिर (२००४), माइतघर (२००६), लङ्गडाको साथी (२००८) र रेम्ब्रान्ट २०२३ गरी ४ ओटा उपन्यास समर्पण गरी नेपाली साहित्यलाई उज्ज्वल तुल्याएका छन् । बाङ्देलले विभिन्न विधामा कलम चलाए तापनि मूलतः उनको लेखनी उपन्यासमै अघि बढेको देखिन्छ ।

लङ्गडाको साथी उपन्यासको विश्लेषण 
लङ्गडाको साथी उपन्यास संरचनात्मक दृष्टिले ९ परिच्छेद र ८० पृष्ठमा संरचित एक लघु आयाम भएको उपन्यास हो । दार्जलिङ्ग सहरको बाजार बजार डुली हिँड्ने लङ्गडोले भोग्नु परेको कारुणिक जीवन कहानी र उसलाई सहयोग गर्ने कुकुरको चरित्रलाई विषयवस्तु बनाई यो उपन्यास अघि बढेको छ । यस उपन्यासमा मानव भएर मानवले पाउनुपर्ने मानवोचित व्यवहार सहयोग, सद्भाव र सहानुभूति लङ्गडाले पाएको छैन । उसलाई बरु अज्ञानी मानिने कुकुरले सहयोग गरेको छ, आत्मीयता देखाएको छ । उपन्यासमा मान्छेमा हराउँदै गएको मानवता र अशक्त व्यक्तिले भोग्नुपरेको पीडालाई निकै मार्मिक ढङ्गले व्यक्त गरिएको छ ।

कथानक 
लङ्गडाको साथी उपन्यास झिनोा कथावस्तु भएको उपन्यास हो । यस उपन्यासमा दार्जलिङ बजारको चोक–चोकमा घुमी हिँड्ने लङ्गडाको दिनचर्या केन्द्रीय कथावस्तुको रुपमा आएको छ । लङ्गडो शारीरिक दृष्टिले कुरुप र अशक्त छ । उसलाई स्कुलका केही विद्यार्थीहरुले भुइँभालुृ भनी गिज्याउँछन् । ऊ अरु सबै कुरा सहन सक्छ तर भइँभालु भनेको भने ऊ पटक्कै सहन सक्दैन । उसका अगाडि स्कुलका विद्यार्थीहरु भालुको नक्कल गरेर उसलाई असह्य पीडा दिन्छन् । लङ्गडो पीडा सहन नसकी ती विद्यार्थीहरुलाई त्यहाँबाट लखेट्छ । ऊ हातमुख जोर्नको लागि दार्जलिङ्ग सहरमा चर्को घाम र मुसलधारे पानीमा पनि लखर लखर खुट्टा घिसारेर
यता उता हिँडिराख्छ । लङ्गडाको जीवनमा साथीको भूमिका निभाउन एउटा कालो कुकुर आएको छ । लङ्गडाको दुःख कुनै मान्छेले बुझ्दैन तर त्यही साथीत्वको भूमिका निभाउन आएको कालो कुकुरले बुझ्दछ ।  लङ्गडाले पनि कुकुरको इच्छा र चाहना चिन्दछ । यसरी लङ्गडो र कुकुर एक–आपसमा घनिष्ट मित्र बनेका छन् । लङ्गडाले दिनभरि मागेको पैसाले केही खानेकुरा किन्छ, आपूm खान्छ र कुकुरलाई पनि दिन्छ । कहिलेकाहीँ लङ्गडाको दिनभरि मागेको पैसा चोरी हुन्छ । त्यसबेला लङ्गडालाई मानव जातिप्रति नै घृणा पैदा हुन्छ । एक दिन आपूmसँगै लखर लखर पछि लागेर हिँड्ने कुकुर हराउँछ, अनि लङ्गडो बडो असमञ्जसमा पर्दछ । सपनामा कुकुरलाई कसैले बाँधेर राखेको देख्छ र उसले सपनामै कुकुरलाई फुकाइदिन्छ । जीवन जिउने क्रममा लङ्गडाले धेरै समस्या भोग्नुपर्छ । वर्षातको समयमा हुरी, बतास र मुसलधारे पानीसँग पैठा जोरी गर्दै हातमुख जोड्नृुपरेको छ । उसले ओत लाग्ने ठाउँसम्म पनि पाएको छैन । उसलाई त्यस्तो कठिन परिस्थितिमा चोरको संज्ञा दिई गलहत्याइ दिन्छन् । त्यसैबेला उसको साथी आइपुग्छ र लङ्गडाको अवस्था देखेर तप्प तप्त दुई थोपा आँशु खसाल्छ । लङ्गडोले मानवोचित व्यवहार नपाउँदा नपाउँदै एक दिन यो धराधामबाट बिदा लिन्छ । उसको मृत्युमा कसैको आँखा रसाउँदैन, रसाउँछ त केवल् उही लङ्गडाको पछि पछि हिँड्ने कालो कुकुरको आँखा रसाउँछ । कुकुर विह्वल हुन्छ । यसरी लङ्गडाको मृत्युको शोकमा सन्तप्त हुँदाहुँदै एकदिन कालो कुकुरले पनि आफ्नो शरीर त्याग्छ । मृत्युको करिब एकवर्षपछि कुकुर र लङ्गडाको अस्थिपञ्जर मसानघाटमा एकै ठाउँमा जोडिएर रहेको हृदय विदारक दृश्य देखापर्दछ र उपन्यासको कथानकले पनि विश्राम लिएको छ ।
यसरी उपन्यासको कथानक आदिदेखि अन्त्यससम्म नै पीडादायी बनेर दुङ्गिएको छ । उपन्यासमा उपकथहरु भने कतै पनि जोडिएको छैन । उपन्यास पढ्दै गर्दा उपन्यासको कथानकले पाठकमनलाई बेस्सरी मर्माहत बनाएको छ र मानवमा मानवता हराएको कुरा पनि उपन्यासमा व्यञ्जित भएको छ । समग्रमा भन्नुपर्दा यो उपन्यास कथानकको दृष्टिले निकै उत्कृष्ट सावित भएको छ ।

पात्र चरित्र
चरित्रका दृष्टिले हेर्दा लङ्गडाको साथी उपन्यासमा लङ्गडो मानवीय सत्पात्रको रुपमा पस्तुत भएको छ । अर्काको घरमा नोकर बसेको एकजना दुःखी नेपाली रुखबाट लडेपछि लङ्गडो बनेको छ । उही लङ्गडो यस उपन्यासको केन्द्रीय पात्र बनेको छ र उसैको केन्द्रियतामा उपन्यासले गति लिएको छ ।  लङ्गडो विना उपन्यासकले गति लिन नसक्ने भएकाले उपन्यासमा लङ्गडो बद्ध पात्र हो । नायकमा हुनुपर्ने गुण लङ्गडोमा नभए तापनि लङ्गडोको माध्यमबाट उपन्यासमा कारुणिकता चरमोत्कर्षमा पुग्न सफल भएकाले लङ्गडोलाई नायकको रुपमा स्वीकार गर्न कतै अत्युक्ति नहुने देखिन्छ ।
उपन्यासमा देखापरेको अर्को पात्र हो कुकुर । ऊ मानेवेतर पात्र हो । मानवेतर पात्र भए तापनि कुकुरले मानवोचित व्यवहार देखाएको कुरा देखाएर कुकुरलाई एक विशिष्ट गुण भएको प्राणीको रुपमा चित्रण गरिएको छ । कुकुर उपन्यासमा मञ्चीय पात्रका रुपमै आएर लङ्गडालाई हरपल सहयोग र साथ दिएको छ । त्यसैले कुकुरलाई एक सहयोगी पात्रका रुपमा लिन सकिन्छ । कुकुर विना उपन्यासको कथानक सहज ढङ्गले अघि नबढ्ने हुनाले कुकुरलाई बद्ध र मञ्चीय पात्रका रुपमा लिन सकिन्छ । त्यसैगरी पसले, स्कुलका विद्यार्थीहरु र उसलाई पैसादिने मान्छेहरु गौणपात्रका रुपमा प्रस्तुत भएका छन् ।

परिवेश 
लङ्गडाको साथी उपन्यासको कालगत परिवेशलाई हेर्दा २००८ साल वरिपरिको समय लिन सकिन्छ भने स्थानगत परिवेशमा चाहिँ पूर्वी नेपालको ३ नम्बर र दार्जलिङ्गको  सिलगुडी सहरलाई लिन सकिन्छ । मूलतः दार्जलिङ बजारको परिवेशमै यो उपन्यासले गति लिएको छ । यस उपन्यासमा एक जना गरिब नेपाली नेपालमा पेटभरी खान र आङमा एकसरो लगाउन नपाएर कामको खोजीमा दार्जलिङ्ग पुगेको छ । त्यहाँ उसले एक जना साहुको घरमा बसेको छ । एक दिन काम गर्ने क्रममा रुखबाट खसेर ऊ लङ्गडो हुन पुगेको छ र उसले जीवनमा मानवबाट मानवता नपाएरै आफ्नो जीवन अन्त्य गर्नुपरेको कारुणिक कहानी उपन्यासमा चित्रित भएको छ ।


उद्देश्य 
लङ्गडाको साथी उपन्यासले वकालत गर्न खोजेको पक्ष मानवता हो । उपन्यासमा मानव भएर मानवत्व दर्शाउन नसकेको हृदय विदारक कहानी प्रस्तुत भएको छ, बरु एउटा पशु कुकुरले मानव व्यवहार लङ्गडोमाथि प्रदर्शन गरेको छ । मान्छे बाहिरी सजधजमा मात्र मान्छे भएको कुरा कयौँ दिन लङ्गडो भोकै सुत्नु परेको कहानीबाट पुष्टि भएको छ । बाहिर जति नै मानवतावादको नारा लगाए पनि व्यवहारमा उतार्न नसकेको कुरा उपन्यासमा स्पष्ट देखिन्छ । अहिलेको समयमा मानिसले मानवता गुमाएको र त्यसको खोजीमा लाग्नुपर्ने कुरा उपन्यासमा मुख्य उद्देश्यको रुपमा व्यक्त भएको छ ।

दृष्टिविन्दु 
लङ्गडाको साथी उपन्यासमा विशेषतः लङ्गडो र कुकुर गरी २ मुख्य पात्रको माध्यमले कथा अघि बढेको छ । त्यसैले यस उपन्यासको दृष्टिविन्दु हेर्दा बाह्य दृृष्टिविन्दु अर्थात् तृतीय पुरुष दृष्टिविन्दु प्रयोग भएको छ ।

शीर्षक सार्थकता
लङ्गडाको साथी उपन्यासमा रुखबाट लडेको एउटा व्यक्तिलाई कुनै मानिसले साथ दिएको छैन । उल्टै लङ्गडो मानिसबाट प्रताडित छ । लङ्गडोलाई मानवीय व्यवहार कुकुरले प्रदर्शन गरेको छ अर्थात् लङ्गडोलाई साथ र सहयोग कालो कुकुरले गरेको छ । लङ्गडो मर्दा कसैको आँखा न रसाउँदा कुकुरको रसाएको छ ।
अतः असहाय लङ्गडोलाई सास रहुन्जेल कुकुरले साथ र सहयोग गरेर आत्मीय बनेको छ । मृत्युपश्चात् लङ्गडो र कुकुरको अस्थिपञ्जर सँगै भेटिनुले पनि यस उपन्यासको शीर्षक लङ्गडाको साथी उपयुक्त र सार्थक छ ।

भाषाशैली 
लैनसिंह बाङ्देलले लङ्गडाको साथी उपन्यासमा सरल, सरस र सहज भाषाको प्रयोग गरेका छन् । जसले गर्दा उपन्यासको कथानक स्वच्छ गण्डकी बगेझैँ अविरल गतिमा अघि बढेको छ । उपन्यासमा तत्सम, तद्भवका साथै हिन्दी र अंग्रेजीका शब्दहरु पनि प्रयोग भएका छन् । उपन्यासमा प्रयोग भएका केही उखान र टुक्काले सुनमा सुगन्ध भनेझैँ उपन्यासमा सुगन्ध थपी पठनीय र आह्लादकारी बनाएको छ ।
समग्रमा भन्नुपर्दा सरल, सहज र सरस भाषाशैलीको प्रयोगले उपन्यास निकै मार्मिक, कारुणिक र पठनीय बनेको छ । यस उपन्यासले विशेष गरी मानिसमा हराउँदै गएको मानवतालाई छर्लङ्ग देखाएको छ । यस उपन्यासलाई अतिमानवीय बनाउने प्रयासस्वरुप उपन्यासको वर्णनमा कहीँ अतिरञ्जनापूर्ण बन्न गएको छ । उपन्यासकारले उपन्यासमा गरेको प्रकृतिको चित्रणबाट सम्भावित घटनाहरु अनुमान गर्न सकिन्छ । उपन्यासमा कुकुर र लङ्गडाको बीचको आत्मीयता देखाउने क्रममा पात्रलाई नै क्रियात्मक रुपमा त्यो व्यवहार प्रदर्शन गर्न लगाउनुको साटो लेखक आफैँ भावुक र आर्दै बन्दै आशावादी धारणा व्यक्त गरिएको कुरा स्पष्ट देखिन्छ । उपन्यासमा अन्तमा कुकुर र लङ्गडाको हाड एकै ठाउँमा मिलेको कुराले अलि अस्वाभाविक भई स्वैर काल्पनिकतातिर उन्मुख भएको पनि देखिन्छ । कतै चेतनप्रवाह शैली त कतै अतियथार्थवादी औपन्यासिक प्रवृत्तिको अवलम्बन गर्दै लेखिएको  यो उपन्यास लघु आयामा नै बृहत् भाव व्यक्त गर्न सफल उपन्यासको रुपमा लिन सकिन्छ ।

                                               शं करोतु शंकर:  । 

विश्लेषक : पुरुषोत्तम रिजाल (Euta BUlanda Aawaj)
थाक्रे २, धादिङ्ग


No comments

Powered by Blogger.