त्रुटिविश्लेषणको विश्लेषण । सङ्कलक : सङ्गीता श्रेष्ठ ।।

                                                 त्रुटिविश्लेषणको विश्लेषण 
१) विषय परिचय 
         भाषा शिक्षणका सन्दर्भमा त्रुटिविश्लेषणको सुरुवात सन् १९७० को दशक पछि भएको हो त्रुटिविश्लेषण प्रायोगिक भाषा विज्ञानको एउटा शाखा हो । भाषा सिक्ने सिकारुले के कस्ता त्रुटि गर्छन् र ती त्रुटिहरू के कसरी हुन्छन् भनी अध्ययन गर्ने विषयलाई त्रुटिविश्लेषण भनिन्छ । सिकारुले सिकाइका क्रममा त्रुटि गर्नु स्वाभाविक हुन्छ । उसले कुनै कुरा सिक्दा प्रयत्न र भुल अनुकरण सिद्धान्त र सादृश्यको नियम अनुकरण गरी सिक्छ । सिकारुले मातृभाषा सिक्दा होस् वा विमातृभाषा सिक्दा होस् गल्ती गर्छ । त्रुटिलाई सिकाइ प्रक्रियाको कमजोरी ठान्नु हुँदैन । त्रुटिलाई भाषा सिकाइको स्वाभाविक प्रक्रिया ठानेर निराकरणका लागि सम्बन्धित पक्षले विशेष सावधान पु¥याउनु जरुरी हुन्छ । त्रुटि विश्लेषण मूलतः दोस्रो भाषा शिक्षणको सन्दर्भमा विकसित भएको दृष्टिकोण तथा पद्धति हो तापनि त्यसकै समस्थिति र अंशतः केही भिन्न स्थिति यसको उपयोग गर्न सकिने कुरा विभिन्न भाषा तथा भाषिकाको पृष्ठभूमि भएका शिक्षार्थीहरूले मानक नेपाली सिक्दा विभिन्न किसिमका त्रुटिहरू गर्ने र उक्त त्रुटिहरूको अध्ययन भाषा शिक्षणमा प्रभावकारिता थप्न उपयोगी हुने ठानिएको छ । त्रुटिले भाषा सिकाइको प्रकृति तथा प्रवृत्तिलाई सङ्केत गरेको हुन्छ । त्यसैले त्रुटिविश्लेषण भाषा सिकाइ प्रक्रियाको अध्ययन एउटा महत्त्वपूर्ण पद्धति हो ।

२. अध्ययनपत्रको समस्या त्रुटि विश्लेषण भनेको के हो ? भन्ने प्रस्तुत अध्ययनपत्रको समस्या रहेको छ ।

३.उद्देश्य त्रुटिविश्लेषणको विश्लेषण गर्नु प्रस्तुत अध्ययनपत्रको उद्देश्य रहेको छ । 

 ४. विषय विश्लेषण 
         भाषा सिकाइको क्रममा सिकारुले गर्ने गल्ती वा कमीकमजोरी के कस्ता गर्छन् भनी अध्यन गर्ने विषयलाई त्रुटिविश्लेषण भनिन्छ । त्रुटिविश्लेषण भाषा सिकाइ प्रक्रियाको अध्ययन गर्ने एउटा महत्त्वपूर्ण पद्धति हो । यसले त्रुटिपरक दृष्टिले प्रत्येक भाषाका सिकाइ प्रक्रियाको अध्ययन गर्ने हुनाले एकातिर यसबाट सम्बन्धित भाषाका शिक्षार्थीहरूले गर्ने त्रुटिहरूको ज्ञान हुन्छ भने अर्कोतिर भाषाको सिकाय क्रम तथा प्रवृत्तिको समेत जानकारी प्राप्त हुन्छ । त्यसैले यसको अध्ययनको महत्त्व प्रायोगिकका साथै सैद्धान्तिक दृष्टिले पनि बढ्दै गएको छ । भाषिक त्रुटिलाई व्यवहारवादी तथा मनोवादी सम्प्रदायहरूले आ–आफ्नै ढङ्गले चिनाउन खोजेका छन् । संरचनावादीहरूले त्रुटिलाई नकारात्मक कोणबाट हेर्दै सिकारुको कमजोरी ठानेका छन् । मनोवादीहरु भने त्रुटिलाई भाषा सिकाइको स्वाभाविक प्रक्रिया मान्छन् । कर्डरले भाषा सिकाइको क्रममा सिक्ने व्यक्तिहरुले गरेका त्रुटिका अध्ययनबाट उसको त्यस क्षेत्रमा कतिको ज्ञान छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । यसबाट उसले कुन कन कुरा सिक्न बाँकी छ, सो पत्ता लगाउन सकिन्छ भन्दै सिकारुले गरेका त्रुटिहरुको भाषावैज्ञानिक प्रक्रियाबाट वर्णन र वर्गीकरण गरेर सिकारुलाई भाषा सिक्दा आइपरेका समस्याको समेत आँकलन गर्न सकिने कुरा उल्लेख गरेका छन् । त्यस्तै गरी एस्.पिट कर्डरले सन् १९६७ मा प्रकाशित ……The Significance of Learners Errors ’’ भन्ने लेखमा दोस्रो भाषा सिकाइका क्रममा सिकारुले गर्ने गल्ती वा कमजोरीलाई नै त्रुटि विश्लेषणका आधार मानेका छन् । (भण्डारी, घिमिरे र नेपाल २०६८) त्यस्तै लक्ष्य भाषाको सिकाइ स्तर स्रोत भाषाको व्यतिरेक स्तरमा निर्भर हुन्छ भन्ने अर्को मान्यता पनि रहेको छ ।

त्रुटिविश्लेषण यस्तो प्रायोगिक अध्ययन हो, जसले स्थापित सिद्धान्त तथा पूर्वानुमानहरूलाई वास्तविक सिकाइका क्रममा कसी लगाउने काम गर्दछ । त्रुटिविश्लेषण प्रायोगिक भाषाविज्ञानको एउटा स्वतन्त्र तथा गहकिलो विधाको रूपमा विकसित भएको देखिन्छ । त्रुटिविश्लेषणले त्रुटिहरूलाई सिकाइको कमजोरी मान्ने परम्परागत धारणालाई अस्वीकार गर्छ र यसले त्रुटिलाई भाषा सिकाइको सहज अवश्यम्भावी एवं अभिन्न अङ्गको रूपमा मान्दछ । त्रुटिहरूबाट नै सिकारुहरूमा भाषाको विकास थाहा पाइने हुनाले उनीहरुको भाषा सिकाइमा त्रुटिविहीन स्थितिबाट गुज्रन सक्छ भन्ने कुरा अप्रासङ्गिक मानिन्छ । भाषा सिकाइको क्रममा जुन व्यक्तिले भाषालाई स्वाभाविक वातावरणमा सिकेको हुन्छ । त्यसले केही न केही गल्ती गरेर नै सिकिरहेको हुन्छ । जुनसुकै सुनियोजित वातावरण पाएपनि कसैले पनि त्रुटिविहीन रूपमा भाषा सिक्दैन त्यसैले भाषा सिकाइको क्रममा वातावरणको अत्यधिक नियन्त्रणलाई जोड दिनु आवश्यक छैन । बरु त्रुटिले सिकारुमा भाषा सिकाइको प्रक्रियालाई सङ्केत गर्ने हुनाले यसले सिकाइको सकारात्मकता दर्शाउँछ । भाषा सिकाइमा उमेरले पनि प्रभाव पार्छ । जस्तै किशोरहरूलाई प्रौढहरुलाई भन्दा दोस्रो भाषा मातृभाषावत् सिक्न सजिलो हुन्छ । पहिलो भाषा एउटै भएका सिकारुहरुलाई खास भाषा सिक्दा समान खालका कठिनाइ आइपर्न सक्छ तर सिकाइ प्रक्रियामा वातावरणको विविधता बौद्धिक स्तरको मात्रा तथा अभिप्रेरणागत भिन्नताका साथै पाठ्यसामग्री शिक्षण प्रक्रियादि विभिन्न पक्षहरुको प्रभाव घटी वा बढी हुने हुँदा उक्त स्थितिबाट पनि कठिनाइमा भिन्नता रहन्छ । 
            अतः भिन्न भिन्न भाषिक पृष्ठभूमि भएका सिकारुहरुले अन्य भाषा सिक्दा कठिनाइमा विविधता हुनु स्वाभाविक मानिन्छ । त्यसैले मातृभाषा सिक्दा होस् वा विमातृभाषा सिक्दा होस् सिकारुले नियमित वा अनियमित रूपमा त्रुटि गरिरहेको हुन्छ । कतिपय स्थितिमा कुनै प्रयोग त्रुटि र अत्रुटि दुवैमा भेटिनुको अभिप्राय खास सिकारु उक्त प्रयोगमा धर्मराउँदो स्थितिमा रहेको पनि हुन सक्छ । त्यसैले त्रुटिको पहिचान गर्ने क्रममा संभाव्य गल्ती प्रयोगहरु असावधानीगत मात्र हुन् कि तिनमा के कति नियमितता छ आदि विभिन्न कुरामा विचार पु¥याउनुपर्ने हुन्छ । नियमित रुपमा देखिने खालका गल्तीहरू नै वास्तविक त्रुटि हुनेहुनाले विश्लेषकले सो कुराको हेक्का राख्नु आवश्यक छ । 

५) निष्कर्ष 
         त्रुटि विश्लेषणका सम्बन्धमा यस्तो निष्कर्ष निकाल्न सकिन्छ कि त्रुटि विश्लेषणले समभाषिक–विसमभाषिक जुनसुकै पृष्ठभूमि भएका सिकारुको भाषा सिकाइको स्तर र त्यसमा रहेका समस्याको अवगत हुन्छ र समाधानका लागि सचेत प्रयास गर्न सकिन्छ । प्रत्यक्ष रूपमा त्रुटि भाषिक सम्पादनसँग सम्बद्ध देखिन्छ तर यसको सम्बन्ध भाषिक सामथ्र्यसँग पनि हुन्छ । त्रुटि सङ्कलन, पहिचान वर्गीकरण, व्याख्या र विश्लेषण गर्ने प्रक्रिया यसमा सम्बद्ध देखिन्छन् । यी सबै प्रक्रियाको हेतु भाषाको शिक्षणलाई अपेक्षा अनुकूल बनाउने हो । शिक्षण सहज, सरल र प्रभावकारी बनाउने ध्येय भनेको विद्यार्थीको भाषा सिकाइलाई अपेक्षाकृत गन्तव्य दिनु हो । यस्तो गन्तव्यमा विद्यार्थीको भाषिक सम्पादन सिकिने भाषाको विशिष्ट अभिलक्षणसँग मिल्ने हुनुपर्छ भन्ने नै हो । तसर्थ भाषा शिक्षणको प्रयोजनलाई सार्थक बनाउने उपायका रुपमा त्रुटिविश्लेषणलाई लिनु जरुरी हुन्छ ।

सन्दर्भसामग्री, 
ढकाल, शान्तिप्रसाद, २०६९–७०), प्रयोगिक भाषाविज्ञान, काठमाडौँ : शुभकामना प्रकाशन । 
पौडेल, माधवप्रसाद, २०६९, प्रायोगिक भाषा विज्ञान, भोटाहिटी : काठमाडौँ, हेरेटिज पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रा.लि. । 

                                                                                                                                सङ्गीता श्रेष्ठ 
                                                                                                                        तामाकोसी गा.पा. दोलखा

No comments

Powered by Blogger.