चिसो चुल्हो महाकाव्यमा प्रयोगशीलता

चिसो चुल्हो महाकाव्यमा प्रयोगशीलता 
१.१ विषय परिचय 
 बालकृष्ण सम पाश्चात्य दृष्टिकोणबाट प्रभावित सशक्त प्रतिभा हुन् । नेपाली कविताको क्षेत्रमा समको आफ्नै किसिमको विशिष्ट योगदान रहेको छ । समले नेपाली कविताको क्षेत्रमा थुप्रै फुटकर कविताहरू लेख्नुका साथै आगो र पानी खण्डकाव्य र चिसो चुल्हो महाकाव्य रचना गरेका छन् । उनको यो चिसो चुल्हो महाकाव्य नेपाली महाकाव्य जगत्मा नितान्त नवीन तथा क्रान्तिकारी प्रयोगका रूपमा देखापर्दछ । संस्कृत काव्य सिद्धान्तका प्रणेता आचार्य भामहदेखि महाकाव्यका शास्त्रीय सिद्धान्तकार ‘साहित्य दर्पण’ का रचयिता विश्वनाथद्वारा प्रतिपादित महाकाव्यीय सिद्धान्तको सीमारेखालाई नेपाली महाकाव्यकारले नाघ्न नसकेको अवस्थामा समको ‘चिसो चुलो’ महाकाव्यको उदय भएको थियो । यस उदयले विश्वनाथको ‘सर्गबन्धो महाकाव्यं तत्रैको नायक सुरः’ लगायतका निर्धारित महाकाव्यीय नियमलाई मिचेर नेपाली महाकाव्यलाई नयाँ स्वरूपमा स्थापित गरेको छ । प्रयोगशीलता, आख्यानीकरण, चिन्तनशीलता तथा शैल्पिक गरिमाले यस महाकाव्यलाई विशिष्ट बनाएको छ । यी विभिन्न वैशिष्ट्य मध्ये प्रयोगशीलताको सन्दर्भमा यो लेख केन्द्रित छ । 

 १.२ अध्ययनको समस्या
‘चिसो चुल्हो’ महाकाव्यमा प्रयोगशीलता’ शीर्षकको अध्ययनपत्रको समस्या निम्नानुसार छ :-
क) चिसो चुल्हो महाकाव्यमा पाइने प्रयोगशीलता के हो ? 
ख) चिसो चुल्हो महाकाव्यमा कुन कुन विषयमा पूर्वीय महाकाव्यको नियमलाई उल्लङ्घन गरिएको छ ? 

१.३ अध्ययनको उद्देश्य
यस ‘चिसो चुल्हो’ महाकाव्यमा प्रयोगशीलता’ शीर्षकको अध्ययनपत्रको समस्याको समाधानको लागि निम्न लिखित उद्देश्य निर्धारण गरिएको छ :-
 क) चिसो चुल्हो महाकाव्यको प्रयोगशीलता केलाउनु, 
 ख) चिसो चुल्हो महाकाव्यमा उलङ्घन गरिएका पूर्वीय मान्यताहरूको विश्लेषण गर्नु, 

१.४ सामग्री सङ्कलनविधि
प्रस्तुत अध्ययनपत्र तयार गर्दा विशेषतः पुस्तकालयीय अध्ययन पद्धति र आवश्यकता अनुरूप विशेषज्ञहरूसँग परामर्श समेत लिई सामग्री सङ्कलन गरिएको छ । 

१.५ अध्ययनविधि 
 प्रस्तुत अध्ययनपत्र तयार गर्दा सङ्कलित सामग्रीको अध्ययनमा निगमनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । 

१.६ चिसो चुल्हो’ महाकाव्यमा प्रयोगशीलता 
    नेपाली महाकाव्य जगत्मा चिसो चुल्हो महाकाव्य नितान्त नवीन तथा क्रान्तिकारी प्रयोगका रूपमा देखापर्दछ । महाकाव्यको सम्बन्धमा पूर्व तथा पश्चिममा आ आफ्नै मतहरु प्रसिद्ध छन् । समको यस महाकाव्यको बाह्य संरचना समाजमा विद्यमान जातजाति, छुवाछुत, अनमेल विवाह आदि घटना–परिघटनाको संयोजन हो । तत्कालीन समाजले अछुत मानेर होच्याएको दमाई जातको युवक सन्तेको त्यही समाजको उच्च जात तथा मध्यमवर्गीय परिवारकी युवती गौरीसँगको प्रेम प्रसङ्गलाई कविले यस काव्यको मूल कथानक बनाई ‘धीरोदात्तश्च स नायकः’ भन्ने पूर्वीय मन्यतालाई अस्वीकार गरेका छन् । समले पूर्वीय तथा पाश्चात्य महाकाव्य सम्बनधी मान्यता अनुसार ऐतिहासिक, पौराणिक वा लोक प्रसिद्ध कथावस्तुको रचना नगरी सामाजिक विषयवस्तुलाई लिएर महाकाव्य रच्नुका साथै उच्च कुलीन र धीरोदात्त नायकमा ठाउँमा तुच्छ जातको निम्नवर्गीय नायकको सिर्जना गरेका छन् । 
     समले समाजका हेलित र उपेक्षित जातलाई महाकाव्यको नायक वनाएर मानवतावादको जरो गाड्न खोज्नुका साथै आर्थिक असम्पन्नताका कारणले भोकभोकै मर्नुपर्ने वाध्यता, रुढीवादी संस्कारप्रति विद्रोही भाव देखाएका छन् । सम्पूर्ण मानवजाति एक हौँ धनी गरिब उच्च, नीच, छवाछुतको अन्त्य गर्दै रूढीवादी मान्यतालाई त्याग्दै राष्ट्र, राष्ट्रियता स्वजाति र स्वसंस्कृति प्रति आस्था प्रकट गर्नुपर्छ भन्ने भाव महाकाव्यमा समले व्यक्त गरेका छन् । चिसो चुल्होे महकाव्यमा वर्णित समाजमा चरम गरिबीको जीवन बाँच्नु सन्ते र उसको अभिभावक रहेको बिजुलेकोे बाध्यता हो । त्यस बाध्यता र विवशतापूर्ण जीवनमा एउटा युवकको अर्की युवतीसँगको स्वच्छ प्रेममा धन पनि बाधक बन्न पुगेको छ र वर्गविभेद त्यसमा कारण बन्न पुगेको छ ।
    सन्ते र गौरीका बीचको अव्यक्त प्रेम हृदयमै सीमित रहन्छ । गौरी सन्तेको प्रेमलाई मनभित्रै लुकाएर बस्छे । आफ्नो उमेरसँग वैषम्य राख्ने एउटा वृद्धावस्थातिर उन्मुख व्यक्तिलाई पतिका रूपमा वरण गर्नुपर्दा पनि उसको मनमा सन्ते नै हुन्छ । पति रणवीरको मृत्यु हुँदा र वैधव्य अवस्थामा पुग्दा पनि उसको हृदयको अन्तरालमा सन्ते नै रहन्छ र त्यहाँबाट बिदा लिएर पुनः चापागाउँस्थित माइतमा आउँदा र त्यसपछि जीवनको अवसानसम्म उसको हृदयमा सन्ते नै रहन्छ तर सधैँ अव्यक्त रूपमा । त्यो बोलचालको भाषामा नभई हृदयको मुक बोलीमा सीमित रहन्छ । समले यसरी महाकाव्यमा नितान्त नौलो र अनौठो प्रयोग गरेका छन् । समाजले जुन प्रेमलाई ‘प्रेम’ भन्ने गरेको छ, ‘चिसो चुलो’का महाकाव्यकारको दृष्टि त्यसभन्दा विस्तृत र व्यापक छ । सन्ते र गौरीबीचको जस्तो त्यही व्यापक र गम्भीर प्रेमले मात्र समाजलाई वास्तविक समाज बनाउँछ । यस किसिमको सामाजिक रूपान्तरणको दृष्टि जनसमान्यको सोचाइमा पाइँदैन । त्यो त मानववादी दार्शनिक सोचाइ भएका बालकृष्ण समजस्ता साहित्यिक प्रतिभामा मात्र पाइन्छ । बालकृष्ण समले आफ्नो यस महाकाव्यका नायक पात्र सन्तेलाई त्यही संयमी ऋषिको स्तरमा उकास्ने प्रयत्न गरेका छन् । उसको गौरीप्रतिको प्रेममा कतै पनि यौन वासनाको लेससम्म पनि पाइँदैन । काव्यमा नायक सन्ते दमाई मौन रहीरही गौरीको उपासना गर्छ । यस अर्थमा ऊ मुनि हो, आजको समाजको उसले गरेको गौरीप्रतिको प्रेम व्यक्तिगत नभई मानवीय प्रेम हो । यसरी सन्ते दमाईलाई संयमीको रुपमा चित्रण गर्नु पनि यस महाकाव्यको प्रयोगशीलपक्ष हो । 

 १.७ निष्कर्ष 
     महाकाव्यसम्बन्धी मान्यताको विद्धरुमा उभिएको समको ‘चिसो चुल्हो’ महाकाव्यको आफ्नै स्थान रहेको छ । समले यस महाकाव्यमा सामाजिक अन्याय र बेथितिका थुप्रै प्रश्न उठाएका छन् । त्यस्ता अन्याय र बेथितिको अवस्थामा हिजोको समाज थियो र आज पनि समाज त्यस्ता मानवविरोधी असभ्य स्थितिबाट मुक्त हुन सकेको छैन भन्ने भाव व्यक्त गरेका छन् । परिष्कारवादी धाराको यस महाकाव्यले सामाजिक अनुदारवादी, चिन्तन र आर्थिक विपन्नताले चिसिएको परिवेशलाई नयाँ विचार र तापले तताउने जमर्को गर्दै नवीन प्रयोगलाई अँगालेको छ । यस्तै महाकाव्यमा देवता, राजा र कुलीन शूरवीरहरूलाई महाकाव्यको नायक बनाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई नमानी महादरिद्र निरक्षर तथा अस्पृश्य निम्न जातको सन्ते दमैलाई नायक बनाइएको छ जो नेपाली महाकाव्य परम्परामा सर्वथा अपूर्व र नितान्त नौलो प्रयोग भएको छ । विषयवस्तु मात्र नभई पात्रविधानका दृष्टिले पनि नेपाली महाकाव्यमा नयाँ मोड आएको छ । 

 सन्दर्भसामग्री 
गैरे ईश्वरीप्रसाद, आधुनिक नेपाली महाकाव्य, दिव्य देउराली प्रकाशन प्रा.ली., बागबजार काठमाडौँ ।

पुरुषोत्तम रिजाल 
थाक्रे २, धादिङ 

No comments

Powered by Blogger.