अर्थ परिवर्तनको विश्लेषण । पुरुषोत्तम रिजाल , थाक्रे २, धादिङ । Euta Bulanda Aawaj

                                                             अर्थ परिवर्तनको विश्लेषण


१.१) विषय परिचय 

               भाषामा रूप, शब्द, पद, पदावली, उपवाक्य आदि विभिन्न तहका भाषिक एकाइहरु हुन्छन् । रूप, शब्द, पद, पदावली, उपवाक्य, वाक्य, अनुच्छेद र सङ्कथन जस्ता भाषिक एकाइहरूको आफ्नै किसिमको संरचना र अर्थ हुन्छन् । यी एकाइहको आर्थिक पक्षको अध्ययन अर्थविज्ञानमा गरिन्छ ।  यिनीहरूबाट अर्थलाई अलग गर्न मिल्दैन, अर्थलाई अलग गरिएमा त्यहाँ भाषा रहँदैन । मानव शरीरका सबै अवयवहरूलाई मस्तिष्कले नियन्त्रण गरेजस्तै भाषिक एकाइहरूलाई अर्थले परिचालन गरेको हुन्छ । यसरी हेर्दा भाषामा अर्थको केन्द्रीय भूमिका रहने देखिन्छ । अर्थ परिवर्तन गर्ने मुख्य प्रक्रियाहरू अर्थविस्तार, अर्थसङ्कोच, अर्थोत्कर्ष/अर्थोन्नति, अर्थापकर्ष/अर्थावनति, अर्थादेश/अर्थाचाल आदि हुन् । प्रस्तुत अध्ययन पत्रमा यिनै अर्थपरिवर्तनका प्रक्रियाहरूको विश्लेषण गरिन्छ । 

१.२) अध्ययनपत्रको समस्या

‘अर्थ परिवर्तनको विश्लेषण’ नामक प्रस्तुत अध्ययनपत्रको समस्या निम्नानुसार रहेको छ ः– 

क) अर्थ परिवर्तनका प्रक्रियाहरू के के हुन् ? 

यही समस्याको समाधान प्रस्तुत अध्ययन पत्रमा गरिएको छ । 

१.३) अध्यनपत्रको उद्देश्य 

हरेक अध्ययन–अनुसन्धान विभिन्न उद्देश्य राखेर  गर्ने गरिन्छ । ‘अर्थ परिवर्तनको विश्लेषण’ नामक प्रस्तुत अध्ययनपत्र निम्न लिखित उद्देश्यमा आधारित छ :– 

क) अर्थपरिवर्तनको प्रक्रियाहरूको विश्लेषण गर्नु,

Euta Bulanda Aawaj

१.४) विषयविश्लेषण 

            कुनै एउटा भाषामा वा स्रोत भाषामा एक किसिमको अर्थ अभिव्यक्त गर्ने शब्दले अर्को कुनै समयमा वा ग्राहक भाषामा अर्कै किसिमको अर्थ बुझाउने प्रक्रियालाई  अर्थपरिवर्तन भनिन्छ । भाषामा अर्थपरिवर्तनको विशेष भूमिका रहेको हुन्छ  । अर्थविस्तार, अर्थसङ्कोच, अर्थोत्कर्ष÷अर्थोन्नति, अर्थापकर्ष÷अर्थावनति, अर्थाचल÷अर्थादेश आदि अर्थपरिवर्तनका माध्यमहरू हुन् । तिनीहरुको संक्षिप्त चर्चा निम्नानुसार गरिएको छ : 

क) अर्थविस्तार 

सीमित वा साँघुरा क्षेत्रको अर्थ बुझाउने शब्दले त्यसभन्दा फराकिला क्षेत्रको अर्थ बुझाउने प्रक्रियालाई अर्थविस्तार भनिन्छ । जस्तैः– 

शब्दहरू         सङ्कुचित अर्थ विस्तारित अर्थ

नेपाल         काठमाडौँ उपत्यका         सिङ्गो देश 

नागरिक         सहरमा बस्ने                 देशको औपचारिक बासिन्दा 

कुशल         कुश उखेल्न जान्ने         निपुण/अभिज्ञ

गवेषण         गाईको खोजी         अनुसन्धान 

ख) अर्थसङ्कोच 

    फराकिला क्षेत्रको अर्थ बुझाउने शब्दले सीमित क्षेत्रको अर्थ बुझउने प्रक्रियालाई अर्थसङ्कोच भनिन्छ । जस्तै : 

शब्दहरूः         पुरानो अर्थ     नयाँ सङ्कुचित अर्थ 

वत्स                 प्राणीको बच्चा     गाईको बच्चा (बाच्छो

पङ्कज          हिलोबाट उत्पन्न हुने        कमल फूल 

काव्य         वाङ्मय                 कविताविधा

ग) अर्थोत्कर्ष/अर्थोन्नति     

कुनै बेला वा कुनै भाषामा सामान्य वा अपमानसूचक अर्थ जनाउने शब्दले अर्को बेला वा ग्राहक भाषामा सम्मानसूचक अर्थ जनाउने प्रक्रियालाई  अर्थोत्कर्ष वा अर्थोन्नति  भनिन्छ । जस्तै : – 

शब्दहरू             आधारभूत अर्थ     हालको अर्थ 

पुराण       पुरानो शास्त्र     धर्मशास्त्र 

मधिसे       मधेसमा बस्ने     मधेसी जाति 

साहस       खराब काम गर्ने आँट     राम्रो हिम्मत 


घ) अर्थापकर्ष/अर्थावनति 

    राम्रो वा सम्मानजनक अर्थ बुझाउने शब्दले सामान्य वा अपमानजनक अर्थ बुझाउने प्रक्रियालाई अर्थापकर्ष÷अर्थावनति भनिन्छ । जस्तै :

शब्दहरू         पुरानो अर्थ हालको अर्थ 

महासामन्त ठूलो राजा         शोषक जमिन्दार 

भिलेन (अङ्ग्रेजी) गाउँमा बस्ने         खलनायक 

पिशाच         एउटा प्राचीन गण         गाली गरिने शब्द 

ङ) अर्थादेश/अर्थचाल 

एक किसिमको अर्थ बुझाउने शब्दले त्यस विषयसँग असम्बन्धित अर्कै अर्थ बुझाउने प्रक्रियालाई  अर्थादेश वा अर्थचाल भनिन्छ । जस्तैः– 

शब्दहरू                 पुरानो अर्थ                 हालको अर्थ 

दोलखा                 दुई लाख जनसङ्ख्या भएको एक विशेष ठाउँ 

नकटो                 नाक काटिएको         बेइज्जती 

सभ्य                 सभामा बस्न योग्य                 शिष्ट 

१.५) निष्कर्ष 

भाषामा अर्थको केन्द्रीय भूमिका रहन्छ, अर्थविनाको भाषाको कल्पनासम्म गर्न सकिदैन । वास्तवमा भन्ने हो भने भाषाको समग्र अस्तित्व नै अर्थमा निर्भर रहन्छ । अर्थविस्तार, अर्थसङ्कोच, अर्थोत्कर्ष÷अर्थोन्नति, अर्थापकर्ष÷अर्थावनति, अर्थाचल÷अर्थादेश आदि अर्थपरिवर्तनका माध्यमहरू हुन् । अतः अर्थपरिवर्तनमा यी तत्त्वहरूको विशेष भूमिका रहेको हुन्छ । 


सन्दर्भसामग्री

ढकाल, शान्तिप्रसाद, २०६९–७०), प्रयोगिक भाषाविज्ञान, काठमाडौँ : शुभकामना प्रकाशन ।   

न्यौपाने, टङ्कप्रसाद, २०७३, सामान्य भाषा विज्ञान, कीर्तिपुर, काठमाडौँ : सनलाइट पब्लिेकेसन । 

पौडेल, माधवप्रसाद, २०६९, प्रायोगिक भाषा विज्ञान, भोटाहिटी : काठमाडौँ, हेरेटिज पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रा.लि. । 



                                                                                                            सङ्कलक : पुरुषोत्तम रिजाल 

                                                                                                                    थाक्रे २, धादिङ 

    



No comments

Powered by Blogger.