डा.वासुदेव काफ्लेको लघुकथा ‘कसी कस्तो ! ’

                                                   कसी कस्तो !

          हर पनि कस्तो मान्छेको, के के गर्न र बन्न मन लाग्ने ! आज बिहानै चियापसलमा भएका मान्छेका माझमा कुबेरले भन्यो, ‘मलाई यो देशको ठुलो मान्छे बन्ने रहर पलायो । म समाजसेवी बन्छु भन्दै गाउँका समस्याको खोजी गरेर समाधानका लागि स्थलगत, संस्थागत सहयोग जुटाउन लागि परेँ । जनसहभागिता र समर्थन खोजेँ । केही सक्रियता वढ्यो । अनि एकाएक मेरो काम रोकियो ।’’ 

त्यहीँ कसैले सोध्यो ‘‘किन रोकियो त ?’’ 

उसले भन्यो, खै, म नै छक्क परेँ । मैले अनुचित के गरेको थिएँ र ? जन परिचालनबाट २२ सय मिटर दुरी पाइप ओछ्याउने डेढ हात गहिरो कुलेसो तयार गराएँ । पहरे पानी छेउ पानी सङ्कलन गर्ने चौकुने पधेरो गराएँ । पालो आयो पाइप ल्याउने र  विछ्याउने । गाउँपालिका पुगियो केही प्रतिनिधि सहित !

‘‘सचिवले भने, यो कुरा त नेताजी–सांसदसँग सल्लाह नगरी हुँदैन ।’’ 

उनले कसैलाई फोन गरे । उताबाट आएको सन्देश सुनाए । हाम्रो प्रतिनिधि नआई केही नगर्नुहोस्, भने रे । 

फेरि कसैले सोध्यो, किन उनीहरूको प्रतिनिधित्व चाहियो रे ? 

सुन्नुस् न ! त्यसपछि हामी नेताज्यू कहाँ पुग्यौँ । 

डा.वासुदेव काफ्ले 

उहाँबाट मर्जी भो, ‘बिना सूचना आफूलाई जे मन लाग्यो त्यै गर्ने, यो मेरो निर्वाचन क्षेत्रमा ? जनताको आवश्यकता मैले छुट्याउने के तपाईँहरूले ? अहिले जे स्थिति छ, थाती रहोस् । मैले पठाएको मान्छेलाई टेर्नु भएनछ । के सही र गलत हो ? प्रतिनिधि पठाई सल्लाह लिन्छु । अनि मनासिब ठहरे सहयोग गरौँला ।’’ 

अनि फेरि कसैले सोध्यो, ‘‘जनताको आवश्यकता, प्रतिनिधि छनोट र सल्लाहकार छुट्टाउने कसी चाहिँ के रै’छ ? ’’

‘‘खै के भन्ने ! जनसेवाले नहुने रै’छ । जहाँ पनि पहुँच चाहिने । हाम्रो पहँुच पुगेन काम रोकियो । उनका चिनजानका, झोले कार्यकर्ता र नातेदार परिएन ! अनि त कामबाटै कमिसनकै चलखेल !’’ 

‘‘यही मूल कसी नमिलेर पाखा परिएजस्तो छ । राम्रै कसी लाएर नम्बरी सुन छुट्टाउन रोकेका होलान् नि । उनकै त राज छ नि तलदेखि माथिसम्म । वाह ! कसी पनि कस्तो कस्तो  !’’


No comments

Powered by Blogger.