हुन त मरिहत्ते गरेर प्रेम प्रस्ताव राख्ने तिमी नै थियौ । मलाई त केवल तिम्रो प्रेमप्रति प्रेम भएको न हो । प्रमिला प्रयासी । काभ्रेपलाञ्चोक ।
प्रमिला प्रयासी । काभ्रेपलाञ्चोक ।
प्रिय मन,
हुन त तिमीलाई प्रिय भन्नु मेरो आफ्नै मन दुखाउनु हो अनि प्रेमकै अपमान गर्नु सरह हो तर पनि भन्न मन लाग्ने रहेछ, र त सम्बोधनमा सँधै प्रिय मन भनेर लेख्ने गर्छु ।
सम्बन्ध टुट्न कसैको गल्ती हुनैपर्दैन रहेछ तिमीबाट सिकेँ। हुन त म गलत छैन भनेर पन्छिन खोजेको पटक्कै हैन । थिए होला अनगिन्ती गल्ती मेरा पनि, दुखाएँ होला तिम्रो मन जानी नजानी, तर तिमीले झैँ कमजोर प्रेम भने गरेकी थिईन मैले त्यो तिमीले बुझ्यौ या बुझेनौ थाहा छैन र अब जरूरी पनि रहेन । हुन त मरिहत्ते गरेर प्रेम प्रस्ताव राख्ने तिमी नै थियौ । मलाई त केवल तिम्रो प्रेमप्रति प्रेम भएको न हो । आफ्नै मर्जीमा आयौ आफ्नै मर्जीले गयौ तिम्रो कुरा हो तर आफ्नो खुसीको लागि अरूलाई पीडामा पिसिदियौ जो गलत थियो । थाहा छैन मैले जसरी नै तिमी पनी अझै ती दिनहरू सम्झिन्छौ या सम्झिदैनौ, र म यो भन्दिन सम्झिनुपर्छ भनेर पनि किन कि अब तिमीलाई ति दिन सम्झेर रूमलिने फुर्सद नै कहाँ छ र ?
लगभग चार बर्ष पुगेछ तिमीलाई भेटेको र नभेटेको पनि, अनि चारै बर्ष पुगेछ तिमीले मलाई भ्रमभित्र राखेको पनि र लगभग तीन बर्ष पुगेछ सम्पर्क बिहीन भएको अनि अर्को कुरा केही दिन अगिमात्र थाहा पाएँ दुई बर्ष पुगेछ रे तिमीले नयाँ प्रेमिका या भनम जिवनसाथी चुनेको ।
धेरै धेरै बधाई यति भन्न मैले छुटाउनै हुन्न। ढिलै भए पनि दाम्पत्य जीवनको शुभकामना दिएँ स्वीकार या नस्वीकार तिम्रो हातको कुरा हुन त प्रेम त स्वीकार नगर्नेले जाबो बधाई के स्वीकार्ला र है ?
मान्छे हेर्दा जस्तो देखिन्छ व्यवहार नि त्यस्तै हुन्न भन्ने कुरा तिमीले नै प्रमाणित गर्यौ किन कि तिमी जति सोझो र इमान्दार मान्छेले यसरी बाजी पलटेर हिँड्छ भन्ने मैले सपनामा नि कल्पना गरेकी थिईन । सोच न आफैँ तिम्रा प्रेमिल वातहरू । माया देखि विवाह सम्म पुग्ने हाम्रा स्वर्णिम सपनाहरू हाहा कति वकफास हुन्छ है प्रेम, हाँसो लाग्छ मलाई सम्झेर अनि जति हाँसो लाग्छ नि त्यस्को दोब्बर आँशु झर्छ तिम्रो यादमा र जति आँशु झर्छ नि हो त्यसैको दोब्बर तिमीलाई या भनम् तिम्रा ती झुटा प्रेमप्रति घृणा लाग्छ मलाई ।
जिन्दगीमा तिमीसँग दुईपटक भेटेँ पहिलो तिमी पर्देशबाट फर्केको एक हप्तापछि र अन्तिम तिमी पर्देशिनु एक हप्ता अघि । हो मान्छु तिमीले हजारचोटि बिन्ति गर्दा पनि तिमीलाई एअरपोर्ट छोड्न आउन सकिन त्यो मेरो आफ्नै कारण थियो । र तिमीलाई लिन अपसोच अरू कोही पुग्यो त्यो तिम्रो कारण थियो । सबै कुरा मैले अन्तिम भेटमा भनेकी थिएँ । आमा बा की एक्ली सन्तान म मेरो जिम्मेवारी र कर्तव्य दुबै निभाउनुपर्थ्यो, तिमीलाई थाहै छ बिजनेश सँगै पार्ट टाइम जब पनि गर्थेँ समय मिलाउन कठिन हुन्थ्यो साथीसँग घुम्ने प्रेमीसँग रमाउने मसँग समय थिएन ।
हुन त एकपटक मैले सोधेको पनि थिएँ म तिमीलाई भनेजति समय दिन सक्दिन यदि यो कारण तिमी दुखी छौ भने ठिक छ तिमी अरू सँग जान सक्छौ भनेर त्यो पल उल्टै गाली गर्ने तिमी हौ । तर दुई बर्ष म सम्पर्कमा नआउँदै तिमीले बाटो मोड्नु खै बाध्यता हो या अरू त्यो तिमी नै जान्नु । दुईबर्ष पनि के भन्नु तिमी नेपाल आएको खबर सुन्ने बितिकै तिमीलाई सम्पर्क गरेकै हुँ तर दुर्भाग्यवंश भेट्न सकिन किन कि म हस्पिटलको शैयामा थिएँ । त्यसपछि धेरैदिन न मैले तिमीलाई सम्पर्क गरेँ न तिमीले नै फेरि सम्पर्क गर्न खोज्यौ। केही दिनपछि तिम्रो प्रोफाईल खै किन हो चेक गर्न मन लाग्यो जहाँ केही दिन पहिल्यै बिहेका फोटा अपलोड भएका रहेछन्प्रा । सबै मान्छे रून्छन् आफ्नो प्रेमीको बिहेको फोटो देख्दा तर म पटक्कै रोईन फिस्स हाँसेँ । यो हाँसो खुसीको हाँसो हुँदै हैन तिम्रो फोटोसँग लेखिएकोको स्टाटस् थियो ूष् बधिबथक यिख थयग मभबच तिमीलाई कहिल्यै रूवाउँदिन हरेकपल तिम्लाई साथ दिने वाचा गर्छु ।
मैले त्यो पढेर नसकाई एउटा कुरा सोच्न भ्याएँ यो स्टाटस् लेख्दै गर्दा उसले बर्षौ पहिले मलाई गरेको त्यै वाचा र त्यै शब्दमा मलाई देख्यो होला कि नाई ऊफ् म पनि त्यति माया गरेको मान्छे माया त देखेन शब्दमा के देख्ला र खै तिमीले बुझ्न सकेनौ तिम्रो कमजोरी, मैले बुझाउन नसक्नु मेरो कमजोरी, तिमीले प्रतीक्षा गर्न सकेनौ तिम्रो कमजोरी, मैले समय दिन सकिन मेरो कमजोरी, केही दिनमै साथ छोडेर अरूलाई भित्र्याउने निर्णय लिनु तिम्रो खुसी, अनि व्यस्तताले प्रेम गुमाउनु मेरो मजबुरि । त्यति छिटै फेरिने तिम्रो महान मनलाई सलाम र तिमी पराईको हुँदासम्म पनि बेखर भई तिम्रै मायाको पर्खाइमा रहने मलाई धिक्कार ।
यी सबै घटनापछि तिमीलाई त मैले विस्तारै विस्तारै भुल्दै थिएँ तिमीले गरेको माया पन्छाउदै अगि बढ्दै थिएँ तर अचानक बाटोमा भेटियौ बोल्ने शब्द फुटेन र बोलिन पनि तर फेरि ती सबै विर्सिएका अतीतहरु एकाएक यी मानस्पटलमा रूमलिन आइपुगे र बाध्य भएँ फेरि एकपटक आँशुको बली चढाउन ।
सायद तिम्रो नाममा खस्ने अन्तिम आँशु यति नै होला । खुसी रहु प्रिय मन श्रीमतीसँग गरेको वाचा अधुरो हुन नदिनु ठिक मसँग झैँ जुन बर्षौ पहिले वाचा गरेथ्यौ ।
उही
प्रयासी

Leave a Comment