अनिश सापकोटाको लघुकथा ।
शीर्षक : सुवास
अनिश सापकोटा
भरतपुर ,चितवन
बगानको एक कुनामा रुक्मिणी एक युगल चराको मोहनीयुक्त प्रेमालाप अवलोकन गर्दै थिइन् ।तर उनको नजर हतास,असन्तुष्ट एवं वेचैनझैँ थियो ।उनका नयनमा केही थोपा अश्रु खस्ला खस्ला झैं गरी टिल्पिलाइरहेका थिए।एक्कासी ती युगल चरा उँडेर कता गए कता।उनी एक्ली भइन् ।वरिपरि कोही थिएनन् । भगवान् श्रीकृष्ण उनीसँग केही काम छ भनी हिँडेको धेरै दिन भएको थियो ।
सुसारेहरू दिनदिनै श्रीकृष्णका अनेक स्त्रीहरूसँगको सम्बन्धका नयाँ नयाँ किस्साहरू सुनाउन लिएर आउँथे ।कहिले उनलाई श्रीकृष्णले ककसलाई सजाय दिए,को(कोसँग युद्ध भयो सबै घटना सुनाउन आउँथे । उनलाई कहिले साह्रै रिस उठ्थ्यो,कहिले डर पनि लाग्थ्यो । उनलाई यतिखेर बगैंचामा बसिरहँदा बगैंचाको सौन्दर्यको कुनै चासो थिएन । उनलाई सारा संसारको सबैभन्दा दुःखी र एक्लो आफू नै झैं लाग्न थाल्यो ।आफूलाई वास्ता नगर्ने ,स्वयं म ,म महारानी ,उसकी पत्नी पो हुँ त। त्यो काले ,चटकी , ऊ आएपछि झगडा गर्छु, रुन्छु।मुखमा जे आयो त्यही शब्दले गाली गर्छु भनेर सोचिरहेकी थिइन् । एक्कासि पछाडिबाट एउटा कुनै परिचित स्पर्श उनको ढाडमा भयो ।उनलाई काउकुतीजस्तो या कुनै फूलको मन्द स्पर्शजस्तो अनुभव हुनथाल्यो।यसो पछाडि हेरिन्।त्यही मायावी महापुरुष,जसको बारेमा उनी सोचिरहेकी थिइन् । उनको नजर जुध्यो।सारा मदहोस,सारा प्रेम,सारा तिलस्मीको एउटा मूर्तिमान् दिव्य पुरुष जसको अङ्गालोमा बेरिन पुगिन्।उनको आँखा बन्द थियोे ।समय कति भयो थाहा थिएन ।
एक्कासि मन्द बतास चल्न थाल्यो ।बतासले बगैंचाको फूलको सुवास जताततै छरिरहेको थियोे । चराका विभिन्न आवाज आइरहेको थियो । मानौं सारा चलअचल प्रकृति ईश्वरीय यो पलको लागि पूर्वतयारी गरिसकेको थियोे ।

Leave a Comment