बुलन्द आवाजको यात्रासंस्मरण ‘धुन्चेदेखि गोसाइँकुण्डसम्म’ ।

                                                       धुन्चेदेखि गोसाइँकुण्डसम्म

                                                             पुरु रिजाल (Euta Bulanda Aawaj)
                                                                  थाक्रे २, धादिङ



           अघिल्लो दिन रातभरि डम्म हुस्सु लागेर एकनास पानी परीरह्यो । मनमा अनेकौँ कुराहरू खेलिरहे । राती अबेलासम्म निदाउन सकिन । कहिले धादिङ्गका साथीहरू, कहिले काठमाडौँका  साथीहरू र कहिले आफ्नै होस्टेलमा भएका राम्रा र नराम्रा पलहरू सम्झिरहेँ । लाग्यो जिन्दगी यसैगरी विताउन पाए कति रमाइलो हुन्थ्यो होला । न मलाई खानाको कुनै चिन्ता थियो, न घरपरिवारको । न म कुनै जागिरमा जानुपर्थ्यो, न कसैको गुलामी गर्नुपर्थ्यो । आपूm घुम्न र रमाइलो गर्न भगवानले पुऱ्याइदिएकै थिए । कसैको अन्याय सही शिर कहिल्यै झुकाउन्नथेँ । मेरो नशा नशामा ‘‘म आफ्नै घरको मालिक झुपडी नै भएपनि’’ भन्ने भाव बगीरहन्थ्यो । मेरो जवानी यत्तिकै रहिरहे हुन्थ्यो जस्तो लाग्थ्यो । यस्तै अनेकौँ कल्पना आइरह्यो मनमा । हुन त यो समयमा यस्ता कुराहरू आउनु स्वभाविकै हो । म धेरै समयदेखि नै असम्भव कुरालाई पनि सम्भव बनाएर कल्पनामा  घण्टौँसम्म हराइरहन्थेँ । त्यो रात पनि कल्पनै कल्पनामा भुसुक्क निदाएछु ।

               राती पिसाबले अत्यायो उठेँ, घडी हेरेँ । रातको ३ बजेको रहेछ । ढोका खोलेँ, शौचालय गएँ । सबै साथीहरू मस्त निन्द्रामा थिए । फेरि कोठामा आएर पल्टिएँ । मन फुरुङ्ग थियो, चञ्चल थियो । निन्द्रा लागेन । कसरी पुग्ने होला लक्ष्यमा ? मलाई यसै प्रश्नले झक्झक्याइ रहेको थियो । जब म फ्रेश हुन बाहिर निस्किएँ , त्यहाँको पर्यावरण स्वच्छ रहेछ । म निकै खुशी भएँ र साथीहरूलाई सुनाएँ । छिटो निस्किन आग्रह गरेँ ।

            साथीहरू पनि फ्रेश भएर जोश र जाँगर बोकेर निस्किए । सबैको साथमा ठूला ठूला झोला थिए । सबैको हातमा लट्ठी पनि थियो । हामी झोलाभरि सामल तुमल र लत्ता कपडा बोकेर त्रिशुलीको किनार किनारै उकालो लाग्यौँ । क्यामेराले त्यहाँको दृश्यहरू कैद गरिरहेको थियो । लाग्यो त्रिशुलीले हाम्रो आगमनमा स्वागत गीत गाइरहेको छ । त्यहाँको पात पतिङ्गरले हाम्रो स्वागत गरिरहेका छन् । बाटामा धेरै तीर्थयात्रीहरू भेटिए । नाक ठोकिने उकालो थियो । हामी आफ्नै पारामा उकालो लागिरह्यौँ ।
बाटामा बूढा बूढी भेटिएमा हामी शास्त्रका कुरा निकालेर उनिहरूलाई मख्ख बनाउँथ्यौँ । भर्खरका भेटिएमा फिल्मका कुराहरू, खेलका कुराहरू र देशको राजनीतिमाथि टिका टिप्पणी गरेर मख्ख बनाउँथ्यौँ । कोही साहित्यिक मन भेटिएमा तिनीहरूलाई कविता, गजल, हाइकु, तान्का, छेस्का र सेन्यूँहरू सुनाउँथ्यौँ र उहाँहरूको पनि निकै चाख लगाएर सुन्थ्यौँ । मलाई त्यहाँ रचना सुनाउँदा भव्य स्टेजमा गएर सुनाको भन्दा पनि निकै रमाइलो लागेको थियो । सबै प्रशन्न थिए । धेरै मान्छेहरूको मन जित्न सफल भएको थियो हाम्रो टोली । बाटामा कहिले भजन गाउँदैे, कहिले दोहोरी खेल्दै, कहिले गजल, कविता र मुक्तक गाउँदै हिँड्थ्यौँ । मुनामदन, शाकुन्तल र राष्ट्रनिर्माता पनि हामीले बिर्सेनौँ । कहिल्यै यी पुस्तक नपढेकालाई पनि हामीले पढायौँ । पहिलो पटक हामी उच्चारण गर्थ्यौँ अनि दोस्रो चोटी उहाँहरूलाई उच्चरण गर्न लगाउँथ्यौँ । अरु सहयात्री पनि आनन्द मान्दै गाउँथे , ‘कुन् मन्दिरमा जान्छौ यात्री मन्दिरमा जाने हो
 कुन् सामग्री पूजा गर्ने साथ कसोरी लाने हो.......
आएर कैल्यै ऋतु सिद्धिदैन,
लाएर माया मुटु रित्तिदैन ।
स्वीकार मात्रै गर एकबार,
संसार तिम्रै अनि बारबार ।। .......
यसै गरेर हामीले धेरै दुरी पार गरी सकेका थियौँ । देउराली भन्ने ठाउँमा पुगेर सबैले प्रचलन अनुसार ठाँटी बनायौँ । फेरि सुरु भो उही क्रम गाउन । सुरु गरे साथीहरूले,
तिम्रो घरमा सिलौटो लोरो,
जिरा पिन्न आइरन्थेँ म मोरो ।
बदम खाको सुन्तला छोडाको आउँछ झल्को पुरानो जोडाको ......
कतिपय त मन्दिर पुगिवरी फर्किरहेका थिए । कतिपयसंग बोलिन्थ्यो, कतिपयसंग मुस्कान साटासाट मात्रै हुन्थ्यो । हामीले त्यहाँ अनेकौँ थरिका मान्छेहरू भेट्यौँ – बूढा बूढी, जोडीहरू र सुन्दरीहरू । हाम्रो टोलीमा १८ देखि २२ वर्षभित्रका थियौँ । त्यसैले हामी सुन्दरीहरूलाई देख्ने वित्तिकै जिस्काउन पछि हट्दैनथ्यौँ । उडुराजमुखी मृगराजकटी, गजराजविराजित मन्दगति.....अर्थात चन्द्रमाको जस्तो वदन भएका, सिंहको जस्तो कम्मर भएका र गजराजझैं मन्द गतिमा हिड्ने सुन्दरीहरूले हामीलाई लठ्ठ बनाउँथे । तिनीहरूको सुन्दर हिँडाइ, क्रिडा, लज्जा, नम्रतापूर्वकको हेराइ, अतिशय मीठो वाणी तथा आफ्नो शरीरको प्रत्येक अङ्गको बनोटले पुरुषहरूको हृदयमा कामदेवको प्रवेश भइहाल्थ्यो । हाँसी–हाँसीकन बोल्दाखेरी उनीहरूको मुखबाट अमृततुल्य स्वादिष्ट औ मादिरासमानको मादकमह झर्न लागेको हो कि भन्ने भान पर्दथ्यो । वाक्यको साथमा जुन सुगन्धित स्वास निस्कन्थ्यो, त्यसको सुगन्धले लठ्ठिएर भमराहरू मुखमण्डलमा चारैतिरबाट घेरिएर अन्धोसमान हुन्छन् कि जस्तो लाग्दथ्यो । मानौ तिनीहरू भमराहरूबाट बच्नको निम्ति जब त्यो छिटोछिटोसंग कोमल पाऊहरू चालेर हिँड्दथे, त्यसबखतमा उनिहरूको कुचकलश र सुन्दर केश हल्लिदा अपूर्व शोभा देखिन्थ्यो । यस्तो देखेपछि हाम्रो मनमा पनि कामदेवको प्रवेश भइहाल्थ्यो ।
          मलाई लाग्यो स्वर्गका अप्सरा यिनै हुन् कि जस्तो।। आइरहेथे ४–५ जना सुन्दरीहरू त्यत्तिकैमा निस्किहालेछन् मेरो ओठबाट — हैन अचेलका यी सुन्दरीहरू स्वर्गलाई छाडेर किन धर्तीमा झरेका हँ ? सबै गलल्ल हाँसे । मेरो अनन्य एक जना मित्रले भने– तिम्रो रूप देखेर होला नि......। फेरि अर्को साथीले थपे –पुरु तिम्रो बुलन्द आवाज सुन्न आका होलान् नि....... । अर्का साथीले मरी मरी हाँस्दै भने तिम्रो गजल मुक्तक सुन्न आका होलान् सुनाइदेउन यस्तै यस्तै सबैले आ—आफ्नो तर्क पेश गरे । विचराहरू मन्द मुस्कुराइ मात्र रहे केही बोलेनन् । यस्तै क्रमले कसैलाई पनि बाँकी राखेनन् जिस्काउन । कसैले नजर प्रहार गर्थे, कोही रातो पिरो भएर शिर झुकाउँथे । कसैबाट हामीमाथि पनि वाग्वाणको वज्रपात हुन्थ्यो । कोही दिल खोलेर बोल्थे, कोही बोल्यो भने सारा सर्वस्व नै जाला जस्तो गर्थे । उताबाट आएको प्रतिक्रियामा हामी गलल्ल हाँस्थ्यौँ । जे होस् हामीले अङ्गना, भीरु, वामलोचना, प्रमदा, मानिनी, कान्ता, ललना, नितम्बिनी, सुन्दरी जस्ता धेरै प्रकारका सुन्दरीहरूलाई त्यहाँ देख्यौँ ।
             यात्रा यसरी नै अघि बढिरहेको थियो । थकानको कुृनै अनुभव भएन । हामीलाई प्रत्येक पाइलामा आनन्दको बिन्दु प्राप्त भइरहेको थियो । जति जति माथि पुग्थ्यौँ, त्यत्ति बढी आनन्दको महशुस भइरहेको थियो । कतिबेला हामीले देउराली, चन्दनबारीलाई पार गरेर लौरीविना आएछौँ थाहै भएन । घडीले ५ बजाइसकेको रहेछ । बिहान पनि हाम्रो यात्रा ५ बजेनै तय भएको थियो । केही साथीहरूलाई लेक लागिसकेको थियो । त्यहाँसम्म जसोतसो ल्याइपुऱ्याएका थियौँ । लेक लागेको औषधी कागती, मरिच,लसुन, प्याज, अदुवा र अचारले पनि साथीहरूलाई कुनै असर पुऱ्याएन । साथीहरूको यो अवस्था देखेर त्यहीँ बस्ने निर्णय गरियो ।

        त्यहाँ होटेलको व्यवस्था थिएन । हामी कटेजको खोजीमा हिँड्यौँ । कटेज भेटियो । राती सुतेको मिलाएर १ जनाको ७०० भन्यो । ओड्नलाई ओड्ने पनि रहेनछ । कटेजमा पराल विच्छ्याइएको थियो । नसुतौँ भने रातभरि हिँउ पर्ने त्यसैले बाध्य भएर कटेजभित्र पस्यौँ । शेर्पा दाइले भात पकाइरहेका थिए । चु्लामा भाँडाहरू थिए एक वर्ष जति नमाझेका । हामी दिनभरी फुको चिउरा, दालमोठ र फुरन्दानाको भरमा थियौँ । केहीले त्यहाँको भात अमृत मानेर खाए । केहीको घाँटीबाटै गएन । मेरो भने त्यो छाक पनि दालमोठ र चिउराको भरमा वित्यो । अर्को टोलीके एक जनाले भने भात थालमा हाल्ने बित्तिकै चिसोले चामल बन्दो रहेछ । तरकारी आलु थियो त्यो पनि त्यस्तै । जस्तो भए पनि दिनभरि केही खाएको थिइनँ, अमृत समान भो मलाई त । मैले हाँसेर यस्तै हो भनी सहमति जनाएँ । हामी त्यो रात बास बस्ने टरोमा ७३ जना थियौँ । सुत्नेबेलामा शेर्पा दाइले सबैलाई कोल्टे पर्न लगाए अनि न अटाएकाहरूलाई अटाए । कोही पनि यता उती फर्किन पाउन्नथ्यो । केही भन्यो भने झनक्क रिसाउँथे शेर्पादाइ । रातभरी अपानको दोहोरी चलेछ । कतिलाई निन्द्रा नलागेर कहिले उज्यालो होला भने जस्तो भएछ । म त थकानले गर्दा भुसुक्क निदाएछु । राती ३ बजे साथीहरूले बिउँझाए । शेर्पादाइलाई ७०० तिर्न मन नलाइ नलाइ तिरेर हामी निस्कियौँ ।
                   वायु मन्द मन्द चलीरहेको थियो । हिमकणहरू पनि बज्रिरहेका थिए हाम्रो पुर्पुरामा । हामी बिस्तारै त्रिशुलीको सुशेली सुन्दै उकालो लाग्यौँ । बिहान ७ बजे हामी गोसाइकुण्ड पुग्यौँ । बाटामा घोडाहरूले डिस्टर्व गरे । निकै अनुभवको महशुस भयो । केही क्षण हिँड्नु पऱ्यो भने रातभरी रुने मेरो साथीलाई सम्झिएँ त्यतिबेला । विचराहरू यहाँ आएका भए कति रात रुन्थे होला ? ती मेरा अदृश्य साथीहरू प्रति माया पलाएर आयो । कता कता तिनिहरूलाई फोन गर्न मन लाग्यो । मोवाइलमा चिसोको कारण व्याट्री सकिएर अफ भएछ । अब पछि गरौँला भनेर चित्त बुझाएँ । जब गोसाइकुण्डमा मैले छलाङ् लगाएँ, तव मेरो सम्पूर्ण थकानले विश्राम लियो । अघि पाइला पाइलामा प्राप्त भएको आनन्दको विन्दु अहिले सिन्धुको रूपमा प्रकट भयो । परम्परा अनुसार रुद्रभिषेक गरी यज्ञोपवीत मन्त्रियर धारण गरियो ।
                     हामीले गोसाइकुण्डको आसपास १०८ कुण्ड भएको कुरा थाहा पाएका थियौँ, तदनुरूप हामी अरु कुण्डको दर्शन गर्ने उत्कण्ठाले लालायित भयौँ । केही साथीहरू त्यहाँबाट माथि जान सकेनन् । उनीहरूले त्यहीँ विश्राम गरे । कति यात्रुहरू गोसाइकुण्डसम्म पनि पुग्न सकेनन् । बिचैबाट फर्किए । जो जहाँबाट हिँड्न सक्दैन उसलाई त्यहीँ छाडेर हामी सूर्य कुण्ड पुग्यौँ । पुगेका साथीहरू सबै मोवाइल र क्यामेरामा त्यहाँको दृश्य कैद गर्न व्यस्त थिए । मलाई श्रीमद्भागवत महापुराणमा कपिलदेवले माता देवहुतीलाई दिएको उपदेशको सम्झना आइरह्यो जुन श्लोकमा यस्तो लेखिएको छ— अत्रैव नरक स्वर्ग इति मात प्रचक्षते । या यातना वा नारक्यास्ता इहाप्युपदर्शना ।। अर्थात् नरक र स्वर्ग यहीँ नै छ, जहाँ हामीले आँखा उघारेका छौँ । यहीँ हामीले नरकका सुन्दै डर लाग्ने अनेकौँ कष्ट र यहीँ नै स्वर्गका मिठो फल भोग्न पाउछौँ । कता कता मलाई नरकको यातना भोगेर स्वर्गमा आइपुगेको भान भयो । मलाई यतिबेल कुनै चिन्ता थिएन । कसैको याद थिएन । थियो त केवल आनन्दै आनन्द । जुन आनन्दको लेश मैले ब्रह्मचिन्तन गर्दा र साहित्यमा डुव्दा भेट्टएको थिएँ । त्यो आनन्द यतिबेला सिन्धु भएर उर्लियो ।
          पुराणमा बताइएका तलाउहरू र त्यहाँका तलाउहरूमा कुनै भिन्नता थिएन । त्यहाँ पुगेका एक जना बूढा बाले भन्नुभयो, तपार्इँहरू धन्य हुनुहुँदोरहेछ । तपार्इँहरूले धेरै पुण्य, परोपकार र धर्म गर्नुभएको रहेछ । यो सूर्य कुण्ड भन्ने ठाउँ यस्तो छ कि जहाँ काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य बोकेका मान्छेहरू आउनै सक्दैनन् । सधैँ अर्काको रिस गर्ने र अन्यायले आफ्नो गुजारा चलाउनेको त कुरै नगरौँ बाबु । हेर्नोस् बाबु गोसाइकुण्ड त हजारौँ आइपुग्छन् तर सुर्यकुण्ड विरलैमात्र आइपुग्छन् । निकै खुशी लाग्यो ती बूढा बाको कुरा सुनेर । कता कता आफूलाई भाग्यमानी सम्झिएँ । बूढा बालाई आफूले संस्कृत पढ्दै गरेको कुरा संस्कृतमा पनि व्याकरण विषय लिएर पढेको बताएँ । बुढा बाले निकै खुशी भएर भाषा र साहित्यको रक्षा गरेस् भनेर मेरो शिरमा हात राखिदिनुभयो । मेरो हर्षको सीमा रहेन । सुन्दर कुण्डहरूको बा आफैँले हामीलाई दर्शन गराएर त्यसको महँत्व बताउनु भयो । निकै आनन्द लाग्यो, भैरव कुण्ड, सरस्वती कुण्ड, वर्द कुण्ड, सूर्य कुण्ड जस्ता कुण्डको अवलोकन गर्दा । इन्द्रबहादुर राइको ‘जयमायाँ आपूmमात्रै लिखापानी आइपुगी’ भन्ने कथामा जस्तै म पनि साथीहरूलाई बाटा बाटामा छाड्दै करिब ४५०० मिटर माथि रहेको सूर्यकुण्डमा आइपुगेँ ।
              नरकका कयौँ यातना भोग्दै स्वर्गको मीठो आनन्द प्राप्त गरेको मैले शिवसंग सधैँ ओठमा मुस्कान रहिरहोस भनी वर मागेँ, अनि भएभरको रिस रागलाई त्यहीँ त्याग गरेँ । फेरि आउने वातावरण मिलाइदिनु रमाइला रमाइला साथीहरूको साथमा भन्दै बिन्ति बिसाएँ । यसरी म ४३८० मिटर गोसाइकुण्ड, लौरीविना, चन्दनबारी, देउराली हुँदै फेरि नरकको यातना भोग्न धुन्चे आइपुगेँ ।

पुरु रिजाल
थाक्रे २, धादिङ



No comments

Powered by Blogger.