मर्दा एक्लिनुपर्छ बुझ्छ कसरी मेरो दुखेको मन ।


मेरो दुखेको मन

लाखौँ यी अणु अस्त्र यान महँगा बेकाम पारेपछि
लाग्यो अन्तिमको उपाय सकियो विज्ञान हारेपछि ।
कोरोना अब त्रासदी बनिसक्यो भो जिन्दगी बन्धन
कस्तो औषधिले निको हुन सकोस् मेरो दुखेको मन ।।

आफ्ना दूर भए रहेन जगमा विश्‍वास आफ्नासित
मान्छे छन् घरभित्र कैद, पर छन् आमा र बाबासित ।
छाती चर्र भएर दुख्छ मुटुमा सम्झेर आफ्नोपन
सम्झाऊँ कसरी बुझेन सजिलै मेरो दुखेको मन ।।

लासैलास जताततै सडकमा छुन्नन् कसैले तर
हुन्छन् जीवन किन्न निष्फल भने सम्पत्ति चाहिन्छ र
बाँचुन्जेल समस्त विश्‍व वशमा राखेर के भो भन
मर्दा एक्लिनुपर्छ बुझ्छ कसरी मेरो दुखेको मन ।।

हाहाकार जताततै हृदयमा भूकम्प आएपछि
मर्दैछन् कति भोकले दिनदिनै खाना नपाएपछि ।
हा हा ईश्‍वर के भयो समय यो संसार भो निर्जन
देख्दा शून्य जताततै अमिलियो मेरो दुखेको मन ।।

मर्दैछन् जब वैद्य डाक्टरहरू छैनन् कुनै ओखती
बाँच्ने साहस गर्नुपर्दछ स्वयम् हाँसेर यो जिन्दगी ।
बाँकी चाह छ शान्तिको पथ चिनूँ, थालूँ नयाँ चिन्तन
चर्केको मन फिस्स हाँस्छ कि कतै गर्दा नयाँ सिर्जना ।।

सृजना अर्याल 




No comments

Powered by Blogger.