धादिङकी स्रष्टा सुस्मिता जिज्ञासुको कविता ।


फूलजस्तै मान्छे



लाग्थ्यो कविहरू फगत लेखिरहन्छन्
सुन्दरताको गहिराइ
भला
कस्को नजरमा अटाउन सक्छ र
विशाल समुद्र ,
कस्को अधरमा मुस्काउँछ र गुलाफ
को हुन सक्छ र फूलभन्दा कोमल,
जूनभन्दा सुन्दर,
को छ र घामजस्तै तेजिलो,
जलभन्दा शीतल,

लाग्थ्यो कविहरू फगत लेखिरहन्छन्
सुन्दरताको उचाइ
भला
कस्को विचार हुन सक्छर
सगरमाथा भन्दा अग्लो,
को मान्छे हुन्छ र भगवान जस्तै,
कस्को हृदय हुन्छ र गङ्गाझ‌ैँ पवित्र,

तर,
जब देखेँ फूलजस्तै मान्छे
जूनजस्तै मुहार,
गङ्गाझै हृदयमा भगवानको आसन,
सगरमाथा जस्तै  विचारको उचाइ,
समुद्र झै निश्चलता,

अचेल असफल भएका छन्
मेरा ती सुन्दरताका मनोविचारहरू

ए फूलजस्तै मान्छे
हृदयलाई कहिलै पत्थर नबनाउनु है ।

©सुस्मिता जिज्ञासु
       धादिङ

No comments

Powered by Blogger.