मकवानपुरका कवि डि.के यात्रीको कविता ‘बाटो र गन्तव्य’ |
बाटो र गन्तव्य
छन्द : पञ्चचामर
अनन्त मार्ग छन् कहाँ पुगेर रोक्नु पाइला
म काम के गरूँ कहाँ सुकाम के रमाइला
सधैँ छ जीत हारको अपूर्व पूर्व शृङ्खलाम शृङ्खला हुँ एउटा कि जीतमा छु हारमा
छ हार हारको यहाँ म जीतको प्रभाव हुँ
अभावको अभाव मै र भावको म भाव हुँ
छ लक्ष्य एउटै यहाँ कहाँ गई समाउनु
कमाउने छ भावना कि नाम यो गुमाउनु
कि अर्थ यो कमाइ हो अनर्थ नै कमाइ हो
सही छ अर्थ त्यै भने र अर्थ त्यो कमाउनु
सशर्त हारमा कहाँ विचार यो रमाउला
सशर्त जीत हो भने विचार यो रमाउला
पुगेँ भने म शान्त भै नदी समुद्रझैँ बनी
छ लक्ष्य शान्त भै बसे अरिक्त रिक्तझैँ बनी
अशक्त शक्त बन्दछ प्रभाव शान्त भावको
छ खोज भेटिँदैन त्यो अकारणै अभावको
जहाँ पुगेर रोकिएँ उहीँ स्वभावमा परेँ
म मार्गमा नरोकिई कहाँ गएर के गरेँ
छ धर्ति सूर्य चन्द्रमा सधैँ सधैँ म माझमा
रमेर जिन्दगी चलोस् छ लक्ष्य यो समाजमा
डी के यात्री
मकवानपुर
Leave a Comment