सत्यसन्देश

      कविशिरोमणि लेखनाथ पौड्यालको कविता
                       सत्यसन्देश
                   
कालो मन्दाकिनीको जल, जलनिधिको मोतिको ज्योति कालो,
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो ।
कैलाश श्रेणि कालो झलमल गर्ने सूर्यको बिम्ब कालो,
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो ॥१॥

दोषी माता पिताका वचन गुरुजनादेश निस्शेष दोषी,
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी ।
पत्नीको प्रेम दोषी अमृतमय मीठा वेदका वाक्य दोषी,
यो सारा सृष्टि दोषी बिधिवश छ भने आफ्नो दृष्टि दोषी ॥२॥

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो,
भिक्षा भारी उज्यालो, अझ वन(वनको साग सिस्नू उज्यालो ।
फयाङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जीर्ण कन्था उज्यालो,
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो ॥३॥

भर्दा(भर्दै हजारौँ विषय(सुख(घडा देह लम्तन्न पर्दा,
झर्दा सम्पूर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा ।
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिर्दामा साथ जाने कुन(कुन चीज हुन्रु सम्झ ती काम गर्दा ॥४॥

जस्तो मानी धनीका नजिक हर घडी टप्प जोडेर हात,
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रतासाथ बात ।
दुस्खीका साथ उस्तै विनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि व्रत, जप, तपले स्वर्गको मोल तोल ॥५॥

मत्ता हात्ती हलुङ्गो, वितत जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो ।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो ब्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ॥६॥




No comments

Powered by Blogger.